पाँच सहयोगीसहित सुरक्षाकर्मीमासमेत कोरोना पुष्टि भएपनि प्रधानमन्त्री ओली भने सुरक्षित

समाचार

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका पाँच सहयोगीमा कोरोना पुष्टि भए पनि ओलीको भने कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकार एवं सहयोगीहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको जानकारी उहाँको सचिवालयले सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकीय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको समेत परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिवालय र सुरक्षामा खटिएका गरी ५० भन्दा बढीलाई संक्रमण भएको बताइएको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित सचिवालयका चालकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाले कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउदै पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै शुक्रबार नै स्वाब दिएका प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत चालकहरुलाई पनि कोरोना पुष्टि भएको छ । बिहीबार र शुक्रबार गरी प्रधानमन्त्री निवासमा कार्यरत १ सय ५० बढीको स्वाब संकलन गरिएको थियो ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले न्यूज २४ संग कुरा गर्दै आफ्नो अवस्था सामान्य रहेको र कुनै लक्षण समेत नदेखिएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *