प्रहरी प्रशासन प्रदेश सरकारको मातहतमा हुनुपर्छ : मुख्यमन्त्री राउत

समाचार

रौतहट, १७ असोज । प्रमुख नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेश भित्र रहेका प्रहरी प्रशासन लगातयका सुरक्षा निकायहरु प्रदेश सरकारको मातहतमा हुनुपर्ने जिकिर गर्नुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्ने मुख्यमन्त्री राउतले सो कुरा बताउनुभएको हो ।

उहाँले २०७६ माघ १० गतेनै नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादन , संचालन र सम्न्यवन गर्ने ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेकाले अब त्यसैको आधारमा प्रदेशका सुरक्षा निकायहरु प्रदेश सरकारको मातहतमा हुनुपर्ने दावी गर्नुभयो । उहाँले केन्द्र सरकारले संविधानमा रहेको प्रदेश सरकारको अधिकार पनि प्रदेश सरकारलाई ढिलाइ गरेकोमा गुनासो गर्नुभयो ।

उहाँले प्रहरी प्रशासन कुनैपनि राजनैतिक दल र तिनका नेताहरुको पछाडि नलागि सत्य तथ्यको आधारमा जनतालाई शान्ति सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिदैँ दवाव मुक्त भएर न्याय र सुरक्षाको लागि काम गर्न सुझाउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जुन ठाउँमा शान्ति सुरक्षाको प्रत्याभूति हुन्छ त्यो ठाउँमा विकास र समृद्धि हुनेभन्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरि कार्य गर्नु आग्रह गर्नुभयो ।

उहाँले प्रदेश नम्बर २ का सुरक्षाकर्मीहरुले सिमित श्रोत र साधनहरुको बावजुद पनि उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै अब अलि फरक ढंगबाट उदाहरणिय कार्य गरेर देखाउने बेला आएको बताउनुभयो ।

प्रदेश सचिव बिरेन्द्र कुमार यादवले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै प्रदेश सरकार र सुरक्षा निकायहरु बीचमा सहकार्य र सहयोग स्थापना गरि विद्यमान चुनौतिहरुको सामना गर्नु पर्नेमा बताउनुभयो । उहाँले सो गोष्ठीबाट शान्ति सुरक्षा कायम गर्न र कोरोना नियन्त्रणको लागि एक अर्काको अनुभव आदान प्रदानले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सो गोष्ठीमा राज्यमन्त्री सरोज कुमार सिंह, प्रमुख सचिवः अर्जुन प्रसाद पोखरेल, प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालयका निर्देशक टेकेन्द्र कार्की, सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्ग, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडित लगायत बारा, पर्सा, रौतहट र सलार्हीका विभिन्न सुरक्षा निकायहरुका प्रमुखहरुको सहभागिता रहेको थियो ।

गोष्ठिमा चारवटै जिल्ला सुरक्षा प्रमुखहरुले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रगतिको बारेमा कार्यविवरण प्रस्तुत गर्ने र सोही आधारमा छलफल गरि भावी योजनाहरु बनाइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *