कक्षा ११ को परीक्षा दिन स्कुटरमा जाँदा दुर्घटना परि १९ वर्षीया युनिका बुढाथोकीको मृत्यु

समाचार

उदयपुर । स्कुटर दुर्घटनामा उदयपुरकी १९ वर्षीया युवतीको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका ९ राजाबासकी १९ वर्षीया युनिका बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा एसपी भिम बहादुर दाहालले राजाबासबाट गाइघाट तर्फ जाँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार बिहान दुर्घटना भएको बताए । दुर्घटनामा गम्भिर घाइते भएकी युवतीको जिल्ला अस्पतालमा सामान्य उपचार पछि विराटनगर रेफर गरिएकोमा न्युरो हस्पिटल विराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ती युवती प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को परीक्षा दिन स्कुटरमा जाँदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । स्कुटरमा दिदि भाई सवार थिए । दुर्घटनामा भाइलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनी जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् ।

डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी निज वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *