गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर एक महिलाको मृत्यु

समाचार

गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते हुनुभएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खस्नुभएको र उहाँको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ ।

त्यस्तै सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *