मेलम्चीको बाढीले बगाउँदा आधा घण्टा रुखमा अड्केर बाँचेका नारायणको हृदयस्पर्शी कथा [भिडियो]

भिडियो

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेका थिए ।

असार १ गते साँझ ६ बजे हेलम्बुमा पहिरो आएको सूचना पाएपछि माछा जोगाउनका लागि हतारहतार काम गर्दैै थिए ।केही माछा सानो खोलामा सारिसकेका थिए तर केही बाँकी थिए । काम गर्दागर्दै एक्कासि मुखका झ्याम्म बालुवाले हानेजस्तो भयो नारायणलाई ।

एकै सेकेन्डमा उनी ढुंगामा ठोक्किन पुगे । हिलोको छालमा कहिले तल त कहिले माथि बजारिँदै गए उनी ।पानीमुनि लगभग १ मिनेटसम्म रहँदा पनि उनले चेत गुमाएनन् । ‘पानीमुनि म होसमै थिएँ, आँखा हेर्न सकिनँ, सास फेर्न सकिनँ,’ बाढीमा बग्दै गर्दाको अनुभूति सुनाउँदै नारायणले लोकान्तरसँग भने, ‘अँध्यारो थियो । आँखा खोल्न सक्ने कुरै भएन, ढुंगाले त कति हाने हाने ।’

कसो–कसो ५ मिनेटपछि नारायणको टाउको. पानीबाट बाहिर भयो । उनले रुख देखे, अर्का १ जना अर्थात् ज्ञानेन्द्र पनि रुखमा समाएर बसेका थिए ।

भाग्यले उनलाई त्यहीँ रुखमा लग्यो, उनले तुरुन्तै रुख समाए । बाढीको बीचमा सहकर्मीसँगै भएपनि एकअर्कासँग बोल्ने हिम्मत भएन । बाढीको छालले रुखलाई निरन्तर हल्लाइरह्यो । रुखको सहारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागिरह्यो उनीहरूलाई ।

‘दैवले लाने दिन आजै रैछ, यो रुख नबगाउन्जेल बाँचौंला जस्तो लागेको थियो,’ नारायणले लोकान्तरसँग अनुभूति सुनाउँदै भने, ‘तर ज्ञानेन्द्र दाइलाई त बगाइहाल्यो ।’ सँगै रुखमा समाएर अड्केका सहकर्मी ज्ञानेन्द्रलाई बाढीले बगाएको तलसम्म हेरिरहे नारायण । यी दृश्य र परिवेश हेर्दा नारायणले आफू बाँचिन्छ भन्ने आश मारिसकेका थिए ।

‘दाइलाई तलसम्म लगेको देखें, अब मेरो पनि पालो आयो, बाँच्दिनँ भन्ने लाग्योे, अब २ मिनेट होला जस्तो लाग्यो तर रुख भने समाइरहें,’ उनले भने ।

रुख समाइरहेका उनको शरीरमा बाढीले हानिरहेको थियो । करीब आधा घण्टाको बीचमा उनले धेरै मानिस सम्झे । आमा, छोराछोरी, पत्नीलाई सम्झिँदै उनले भूकम्पले भत्काएको घर बनाउने सपना पनि चकनाचुर भएको ठहर गरे ।

पत्नी नमूना चालिसेलाई कैयौंपटक सम्झेको नारायणले बताए । ‘सबैभन्दा धेरै सम्झेको उनलाई (पत्नी) हो, कसरी घर चलाउँलिन्, मन कसरी थाम्लिन्, छोराछोरीलाई के भन्लिन् भन्ने कुरा मनमा खेलिरह्यो,’ नारायणले भने ।

रुखमा समाएकै बेलामा उनले लगाएको जाङे (हाफ पाइन्ट) गह्रुंगो भए जस्तो लाग्यो । त्यही जाङेका कारण हात फुस्केला जस्तो भएपछि उनले त्यो खुट्टाले फुकालेर फालिदिए । उनको त्यो जाङेमा ७० हजार रुपैयाँ थियो । ‘आफैं त बाँचिन्छ जस्तो लागेको थिएन, पैसाको के माया भयो र ?’ नारायणले भने ।

आधा घण्टाको त्यो संघर्षपछि बाढी अलि कम भयो । ‘जेसुकै होस्, यसै मर्ने उसै मर्ने ! बाँचे त बाँचिहालियो’ भनेर उनी बाहिर निस्कने खोजे । अलिकति पौडिन जानेका उनी खोलाको पल्लो छेउमा कसरी–कसरी पुगे, अनि निस्किए ।

बाढीले थिचेर उनको ज्यान थिलो–थिलो भएको थियो । उनी कट्टुमा मात्रै थिए । लाज हराइसकेको थियो । आफू बाँचेको छु भन्ने पनि उनलाई भान भएको थिएन । अर्धचेतमा थिए, १ घण्टा हिँडेर घर पुगे ।

घरमा पुगेर उनी बेहोस भए । परिवारले अस्पताल लगेर उपचार गर्‍यो । असार २ गते बिहान मात्रै उनी होसमा आए । अझै पनि उनी राम्रोसँग बोल्न सक्दैनन् । बाढीले बगाएर बाँचेका उनी अहिले परिवारसँग बसिरहेका छन् ।

आइतवार लोकान्तरकर्मी उनको घरमा जाँदा आफन्तको बीचमा हँसिलो मुद्रामा बसेका थिए । उनको छेवैमा उनकी पत्नी नमूना थिइन् । हँसिलो मुद्रामा पतिको स्याहार गर्दै थिइन् भने उनका छोरा पनि बुवाको नजिकै बसेका थिए ।

‘माथिबाट बाढी आयो, तल सबै बगाएको देखेका थियौं । उहाँ (नारायण) को फोन पनि लागेको थिएन । हामीलाई जिउँदै हुनुहुन्छ भन्ने आशा मरिसकेको थियो,’ नमूना चालिसेले लोकान्तरसँग भनिन्, ‘अरुलाई फोन हान्दा सबै बगाएर लग्यो भनेका थिए ।’

घरपरिवारमा रुवाबासी चल्यो, खोज्न पनि कहाँ जाने केही पत्तो थिएन । राति भएको थियो, मुसलधारे पानी परेको थियो ।

एक्कासि साँझ नारायण घरमा टुप्लुक्क आइपुगेपछि सबै जनाको सास आयो । सबै खुशी भए । तर उनको शरीरभरि घाउचोट देखेपछि स्थानीय अस्पतालमा उपचार गराइएको नमूनाले लोकान्तरलाई बताइन् ।

सबैभन्दा खुशी त नारायणकी आमा ७२ वर्षीया चनमती चालिसे थिइन् । बाढीको खबर सुन्दा आफ्नो कोख रित्तिएको जस्तो लागेको थियो उनलाई । ‘छोरा आएपछि यति धेरै खुशी भए कि त्यो दिन भातसम्म खाइनँ खुशीले,’ चनमतीले लोकान्तरसँग आफ्नो अनुभूति सुनाइन् ।

यसरी बाँचे रामकृष्ण

त्यही दिन चनमतीका जेठा छोरा रामकृष्ण चालिसे पनि त्यसैगरी बाँचे । सिन्धुपाल्चोककै भोटाङमा खोलाले बगाएका रामकृष्णलाई स्थानीयले बचाए ।

‘त्यो दिन जेठोलाई पनि खोलाले बगाएको रहेछ, भोटाङका भोटे भोटेनीले डोरीले तानेर बचाएका रहेछन्,’ चनमतीले भनिन्, ‘त्यस दिन मेरा दुईवटा छोरा बाँचे ।’

उद्धार गरेर बाँचेका रामकृष्णलाई होस आएपछि स्थानीयले परिवारलाई जानकारी गएका थिए । अहिले पनि उनी घरमा आइपुगेका छैनन् । भोटाङमै उपचाररत छन् ।

त्यही दिन चनमतीका कान्छा छोरा राजकुमार चालिसेको मेलम्चीमा रहेको ट्राउट फर्म, साढे २ तलाको घर र रेस्टुरेन्ट सबै बगाइदियो । करोडौंको सम्पत्ति क्षणभरमै बाढीले बगायो तर मानवीय क्षति हुन पाएन ।

‘कान्छो भाग्यमानी रहेछ भन्थे तर १ मिनेटमा खोलाले सडकमा ल्यायो,’ चनमतीले भनिन्, ‘ज्यान त बाँचेको छ, फेरि कमाउलान् ।’

२०७२ सालको भूकम्पमा नारायणको घर भूकम्पले भत्काएको थियो तर त्यसलाई हालसम्म पनि बनाउन सकेका छैनन् । सरकारले दिएको अनुदानबाट १ तलाको टिनको मात्रै घर बनाउन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *