घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजमा हेर्दा देखियो चार जना, पोष्टमार्टम रिपोर्ट पनि आयो

समाचार

काठमाडौं । काठमाडौंको बौद्धमा फेला परेको शवको पहिचान खुलेको छैन । दुई दिन लगातार शवको फरक-फरक अंश फेला परेका थिए । पहिलो दिन खुट्टा लगायतका अवशेष फेला परेको थियो भने भोलीपल्ट शरिरका अन्य अवशेष फेला परेका थिए ।

केही फरक दुरीमा भेटिएको शवको अवशेष प्रहरीले पहिचानका लागि डिएनए परिक्षण थालेको छ । अहिले सम्म कसैले आफन्त हराएको भनेर नआएका कारण पहिचान खुल्न सकेको छैन । घटनामा संलग्नहरुको पनि खोजी भइरहेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा शवको केही अवशेष फेला परेको थियो । एक जना महिलाले खुट्टा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छुट्टा छुट्टै टिमले घटनाको अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका क्रममा घटनामा ४ जनाको संलग्नता देखिएको छ । चारजना युवाले बोरामा राखेर बोक्दै गरेको देखिएको छ ।

घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजमा चार जना देखिएका हुन् । चारजनाले बोरामा शवको केही अंश छोडेर नयाँबस्तीको फुटबल मैदान हुँदै हिँडेको देखिएको छ । तर, उनीहरुको पहिचान हुन सकेको छैन ।

शवको पहिचान भएपछि मात्र घटनाको थप कुरा खुल्न र अनुसन्धान गर्न सजिलो हुने प्रहरीको भनाई छ । शव महिला वा पुरुष कसको हो भन्ने पनि खुलेको छैन । त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छ । तर, अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *