चक्रपथ विस्तार : गोंगबु चोकको आकाशे पुल भत्काइयो, ५० कित्तामा मुआब्जा

समाचार

चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत ‘साइड क्लियरेन्स’को काम तीव्र रुपमा अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा काठमाडौंको चक्रपथ विस्ताको दोस्रो चरणको काम तीव्र पारिएको हो ।

यस चरणअन्तर्गत कलङ्कीबाट धोवी खोलासम्मको ११.६ किलोमिटर सडक निर्माण हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङका प्रेस संयोजक सन्दीप राईले बताउनुभयो । साइड क्लियरेन्सपछि मात्रै चीनले सडकको डीपीआर तय गर्ने र लागतका विषयमा टुंगो हुने उहाँले बताउनुभयो ।

‘अहिले सडक विस्तारको पूर्वतयारीका लागि साइड क्लियरेन्सको काम तीव्र पारिएको छ । आइतबार नै यातायात मन्त्रीज्यूले क्लियरेन्सका लागि छलफल गरेर निर्देशन दिइसक्नुभएको छ,’ राईले भन्नुभयाे । उहाँले सडक सेन्टरलाइनबाट दायाँ-बायाँ ३१ मिटर हुनेगरी ८ लेनमा सडक विस्तार हुने बताउनुभयो ।

उता, सडक आयोजना प्रमुख अर्जुन सुवालले आगामी ३ महिनामै साइड क्लियरेन्सको काम सक्नेगरी अगाडि बढिरहेकाे बताउनुभयो । क्लियरेन्सको काम सकिएपछि कहाँ के हुने र राख्न सकिने भन्ने सामान्य खालको प्रारम्भिक डीपीआर पाउन सकिने सम्भावना रहेको उहाँको भनाइ छ । तर फाइनल डीपीआर प्राप्त गर्न केही समय लाग्ने प्रमुख सुवालले बताउनुभयो ।

भत्काइयो आकाशे पुल

साइड क्लियरेन्स अन्तरगत नयाँ बसपार्कस्थित गाेंगबु चाेकमा रहेकाे आकाशे पुल भत्काइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि बिहीबार रातिबाट काठमाडौं महानगरपालिकाले पुल भत्काएको हो ।

पुल निकालिएपछि पुलमा प्रयोग भएका सामग्रीहरु नगरपालिकाले जिम्मा लिने सडक आयोजना प्रमुख अर्जुन सुवालले बताउनुभयो । पुलका पिलरहरु पनि चाँडै भत्काउनु पर्ने भए तापनि व्यापारीहरुले सटर प्रयोग गरिरहेकाले तत्काल भत्काउन नसकिएको उहाँको भनाइ छ ।

‘दशैँ नजिकिँदो छ, पसल गर्नेहरुले व्यापार गरिरहनुभएको छ । मानवीयताकाे दृष्टिले पनि तत्कालै भत्काइहाल्न सकिएन । यद्यपि हामीले पसल हटाउन नगरपालिका मार्फत सुचना भने दिइसकेका छौँ,’ प्रमुख सुवालले भन्नुभयो ।

५० कित्तामा मुआब्जा

सडक विस्ताकाे तयारी गर्ने क्रममै महाराजगन्जदेखि पूर्व २४४ मिटरभित्र पर्ने ५० कित्ता जगाको मुआब्जा दिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका तथा वडा गरी ३ तहको छलफलपछि मुआब्जा निर्धारण हुनेछ । मुआब्जाका लागि २० जना सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

सो जग्गाको मूल्यङ्कन कात्तिक महिनाभित्रै गरिसक्नेगरी सबै तहसँग समन्वय भइरहेको बताइएको छ । त्यस्तै सम्पर्कमा नआएका थप कित्ताका धनीहरुलाई सम्पर्कमा आउन नगरपालिकाले सुचना जारी गर्ने उहाँको भनाइ छ । यसअघि सो क्षेत्रका सहित सडक आसपासका २१ सय रुख कटान गरिएको थियो ।

‘हाई भोल्टेज टावर’ स्थानान्तरण, चैत्य हटाइने

आइतबार मन्त्रालयमा बसेको बैठकले सडक विस्तारका क्रममा अवरोध हुनसक्ने ‘हाई भोल्टेज टावर’ रहेका बिजुलीका पोल हटाउने निर्णय गरेको थियो । निर्णयअनुसार नै मन्त्री नेम्वाङ्ले सडक आसपासका बिजुलीका पोलहरु एक महिनाभित्रै हटाउन विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको संयोजक राईले बताउनुभयो ।

उहाँका अनुसार कारखाना चोक र सानोभ-याङस्थित हाई भोल्टेज टावर स्थानान्तरण गर्न पनि निर्देशन दिइएको छ । विगतका समयमा पनि विद्युत प्राधिकरणले हटाउने प्रतिबद्धता जनाइसकेकाले अबको ३ महिनाभित्र हाई भोल्टेज टावरहरु स्थान्तरण गरिसक्न निर्देशन दिइएको हो ।

त्यसैगरी स्वयम्भूस्थित सडकमै पर्ने चैत्य पनि कात्तिक मसान्तभित्रै हटाउन निर्देशन दिइएको संयोजक राईले बताउनुभयो । बौद्ध धर्मावलम्बीले विकासको नाममा सांस्कृतिक सम्पदा मास्न नपाइने भन्दै विरोध गर्दै आए पनि मन्त्रालयले भने काठमाडौं महानगरपालिकासँग मौखिक सहमति गरिसकेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *