नेपाली सेनाको कोरोनाबाट बच्ने यो उपाय, दशैंमा घरजाने सेनालाई आफै पुर्याइदिने

समाचार

काठमाण्डौं । नेपाली सेनाले चाडपर्वमा कोरोनाबाट आफ्ना सैनिकहरुलाई बचाउन नयाँ रणनीति ल्याएको छ । सेनाले दसैं बिदामा जाने सैनिकलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा कोरोना सर्ने जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको छ ।

यस वर्षको दसैंमा सकेसम्म कमलाई बिदामा छाड्छौं, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्‍याउने व्यवस्था गरेका छौं, प्रवक्ता पौडेलले भने, सकेसम्म कसैले पनि सार्वजनिक यातायात नचढ्ने गरी व्यवस्था मिलाएका छौं ।

बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ।सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो ।

नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ । घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ । विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ । नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए ।

हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना देखिएको छ। यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन्। कोरोनाकै कारण दुई सैनिकको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *