काठमाडौ । कुखुराको मासुको मूल्य निकै सस्तो भएको छ । कुखुरा उत्पादनको तुलनामा खपत घट्दै गएका कारण मुल्य घटेको हो । काठमाडौ लगायतका जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि कुखुराको मुल्यमा प्रभाव पारेको छ ।
उत्पादन धेरै र खपत कम हुन थालेपछि मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो। दसैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो।
पोल्ट्री संघले बजारमा लागू हुनेगरी कुखुराको मासुमा किलोको ३५ रुपैयाँ कम गरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। बजार बिग्रिने अवस्थामा मूल्यमा सन्तुलन मिलाउने प्रयास संघले गर्ने गरेको छ।
हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ। मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन्। यसवाट उपभोक्तालाई भने फाइदा भएको छ । तरकारीको मुल्य भन्दा सस्तोमा कुखुराको मासु पाउन थालेको छ । चाडपर्व नजिकिदै जाँदा तरकारीको मुल्य भने बढेको छ ।