काठमाडौ । सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ। सर्वोच्चले अप्रत्याशित निर्णय गरेको भन्ने प्रतिकृया दिएका प्रचण्ड नेपाल समुहले अबको रणनीति के गर्ने भन्ने विषयमा छलफल सुरु गरेका हुन् । उनीहरुले एक चरण कानुनविदहरु संग पनि परामर्श गरेका छन् ।
सर्वोच्चले राजनीतिक निर्णय लिएको निष्कर्षमा पुगेका प्रचण्ड नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको हो । आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो।
आइतबार संविधानविद् र कानुनविद्सँग भएको छलफलमासर्वोच्चको फैसला पुनरवलोकन गर्न सुझाव दिए पछि थप रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाएको सो समुहका नेताले बताएका छन्।
यसका साथै नेकपाका बहुमत सदस्य र सांसदले नेकपा नामबाहेकको अर्को नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सकिने समेत सुझाव दिएका छन्। नेकपाको स्थायी कमिटी बैठक हुनुअघि माधव नेपालले आफु निकटका नेताहरुसंग छुट्टै छलफल गरेका छन् । सर्वोच्चले नेकपा नै विघटन गरिदिएपछि थप समस्यामा परेका नेपाल पक्षले अब फेरी नेकपा एमालेमै फर्कने निष्कर्ष निकालेका छन् ।
सर्वोच्चले नेकपाको मान्यता नदिएर पूर्ववत पार्टीमा फर्कन आदेश दिएपछि नेपाल पक्ष पनि एमालेमै जाने निर्णयमा पुगेको हो । सो पक्षले एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ।
तत्कालिन नेकपाको अध्यक्ष रहेका नेपालले आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए । सोमबार नयाँ बानेश्वरको एक होटलमा भएको छलफलमा नेता नेपाल पक्षका नेताहरुले ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको’ एक नेताले बताएका छन् ।
‘प्रचण्डलाई साथ दिन पुगेका माधव नेपाल र झलनाथ खनाल लगायतका पूर्व एमालेलाई अब माओवादी केन्द्रमा जान नैतिक अप्ठेरो पर्ने भएकाले एमालेमै फर्केर संघर्ष गर्ने निर्णयमा पुगेको मान्न सकिन्छ ।
अदालतको आदेशलाई सम्मान गर्नुपर्ने वाध्यात्मक परिस्थिती भएकाले पनि उनीहरुका अगाडी अर्को विकल्प छैन । ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो। जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो नेपाल निकट एक नेताले भने । सो निष्कर्ष पछि माधव नेपाल समुह पेरीसडाँडामा जारी नेकपाको स्थायी कमिटी बैठकमा सहभागी हुन पुगेका थिए ।